जेनजी आन्दोलनका क्रममा जलेर १४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त - Chaitanya News
  • 2026-05-28
  • 23:21:27
  • बिहिबार,जेठ १४, २०८३
  • जेनजी आन्दोलनका क्रममा जलेर १४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त

    जेनजी आन्दोलनका क्रममा जलेर १४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त

    काठमाडौं– अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएका छन्।

    अर्थ मन्त्रालय स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको छ।

    क्षति हुँदाहुँदै भन्सार कार्यालयहरूबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

    आन्तरिक राजस्व कार्यालयबाट भौतिक रूपमा राजस्व संकलनको काम सुरु गर्न नसकिए पनि अनलाइन मार्फत भने राजस्व संकलन भइरहेको पनि मन्त्रालयले जनाएको छ।

    पूर्णरूपमा क्षति भएका आन्तरिक राजस्व कार्यालयमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेको अर्थ स्रोतले जनाएको छ।

    त्यस्तै कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका आन्तरिक राजस्व कार्यालयमा आंशिक क्षति भएको छ।

    भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा क्षति भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए।

    विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी कार्यालयमा आंशिक क्षति भएको छ।

    आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा काठमाडौंको आन्तरिक राजस्व कार्यालयहरू भने सुरक्षित रहेको उनले बताए।

    भन्सारको अनलाइन प्रणाली आशिकुडा र आन्तरिक राजस्वको प्रणाली आईएसपी सुरक्षित रहेकाले कर संकलन सुचारु गर्न सकिने उनले बताए।

    अर्थ मन्त्रालय अन्तर्गत मुख्य भवन बाहिर रहेको बजेट महाशाखाको एउटा सानो भवन पूर्णरूपमा जलेको उनले बताए।

    मन्त्रालयको मूलभवन आगलागीबाट जोगिए पनि १५ वटा जति गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएको उनले बताए।

    नयाँ सरकार आएसँगै अर्थ मन्त्रालयका सम्पूर्ण काम सुचारु गर्ने गरी तयारी थालिएको प्रवक्ता पाण्डेले बताए।