नेपाली सेनाद्वारा १३५ नाल हतियार बरामद: शंकास्पद वस्तु डिस्पोज र फरार कैदी नियन्त्रण - Chaitanya News
  • 2026-05-10
  • 08:17:56
  • आइतबार,बैशाख २७, २०८३
  • नेपाली सेनाद्वारा १३५ नाल हतियार बरामद: शंकास्पद वस्तु डिस्पोज र फरार कैदी नियन्त्रण

    नेपाली सेनाद्वारा १३५ नाल हतियार बरामद: शंकास्पद वस्तु डिस्पोज र फरार कैदी नियन्त्रण

    काठमाडौँ–  नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपछि देशभरको शान्ति–सुरक्षा अवस्था मजबुत बनाउन क्रमशः सफलता हासिल भइरहेको छ।

    सुरक्षा निकायले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०८२ भदौ २६ गते साँझ ६ बजेदेखि २७ गते बिहान १० बजेसम्मको अवधिमा महत्त्वपूर्ण गतिविधिहरू सम्पन्न भएका छन्।

    झापाको भद्रपुर नगरपालिका–८ स्थित अस्पताल चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षितरूपमा डिस्पोज गरेको छ। उक्त घटनाले स्थानीय क्षेत्रमा फैलिएको त्रास कम गर्न सहयोग पुगेको सेनाले जनाएको छ।

    त्यसैगरी, काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट विभिन्न मोबाइल फोन र विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। उनीहरूको पृष्ठभूमि र गतिविधि सम्बन्धमा थप अनुसन्धान भइरहेको सुरक्षाकर्मीहरूले जनाएका छन्।

    यस्तै, धादिङको गजुरीस्थित धादिङ कारागारबाट भागेका कैदीहरूमध्ये ४३ जनालाई पुनः नियन्त्रणमा लिइएको छ। बाँकी फरार कैदीहरूको खोजी परिचालन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

    यस अवधिमा विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद भएको समेत सुरक्षा निकायको विवरणमा उल्लेख गरिएको छ।