काठमाडौँ– काठमाडौँ उपत्यकाका तीनै जिल्ला(काठमाडौँ, ललितपुर र भक्तपुरमा केही दिनयता जारी निषेधाज्ञा र कर्फ्यू लागू गरिएको छ।
नेपाली सेनाले जनतासमक्ष सन्देश जारी गर्दै भाद्र २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू निरन्तर रहने जानकारी दिएको हो।
सेनाले अत्यावश्यक सेवाका सवारी तथा संघसंस्थाहरू भने सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ। साथै, जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तुहरूको व्यवस्थापनका लागि भाद्र २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म बजार खुला राखिने बताइएको छ।
तर सेनाले ती समयावधिमा पनि स(सानो समूहमा मात्र कार्य गर्न र भीडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
उपत्यकामा जारी भइरहेको जनआन्दोलन, प्रदर्शन र हालैका हिंसात्मक गतिविधिका कारण सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जनाइएको छ।
जेन जेड समूहको दुई दिने आन्दोलनपछि उथलपुथलमा परेको देशको राजनीतिसँगै शान्ति–सुरक्षामा थपिएको चुनौतीलाई मध्यनजर गर्दै सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ।