काठमाडौँ उपत्यकाको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी - Chaitanya News
  • 2026-11-09
  • 09:54:07
  • सोमबार,कार्तिक २४, २०८३
  • काठमाडौँ उपत्यकाको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी

    काठमाडौँ उपत्यकाको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी

    काठमाडौँ– जेनजी प्रदर्शनका कारण रक्षात्मक अवस्थामा पुगेको काठमाडौँ उपत्यकामा प्रहरीले ड्युटी लिन थालेको छ। भदौ २४ मा प्रदर्शनकारीले उपत्यकाका प्रहरी वृत्त र प्रभागहरुमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका थिए।

    प्रदर्शनकारीको आक्रमणमा परेका डीएसपी इन्चार्ज हुने वृत्तका प्रहरी कर्मचारीहरू नजिकको सैनिक ब्यारेकमा पुगेका थिए। सेनाले सुरक्षा कमाण्ड लिएर स्थिति नियन्त्रणमा आएपछि प्रहरी कर्मचारीहरू फिल्डमा फर्किएका हुन्।

    काठमाडौँको सडकमा ड्युटी लिन प्रहरी प्रधान कार्यालयबाट ३ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। एक जना उच्च प्रहरी अधिकृत भन्छन्, ‘काठमाडौँको सडकमा प्रहरी खटाउन थालेका छौँ।’

    काठमाडौँ उपत्यकामा रहेका वृत्त र प्रभागका प्रहरी कर्मचारीहरू अझै काममा फर्किन सकेका छैनन्। प्रदर्शनकारीले प्रहरी वृत्त थानकोट, दरबारमार्ग, सातदोबाटो र बानेश्वर लगायतका वृत्तमा आगजनी गरेका थिए। प्रहरीका अधिकांश कार्यालयहरू तोडफोड भएका छन्।

    भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको भवनमा प्रदर्शनकारीहरूले आक्रमण प्रयास गरेका थिए। २०८१ भदौमा उद्घाटन गरिएको सो भवनचाहिँ प्रहरी कर्मचारीले जोगाएका छन्।

    सशस्त्र प्रहरीको ट्रक कब्जा गरेर करिब २ सय मानिस ट्रक लिएर काठमाडौँ प्रहरीको भवन कब्जा गर्न गएका थिए। तर, सुरक्षा रणनीति प्रयोग गरेर भवन जोगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए। उनले भने, ‘हामीले सुरक्षा रणनीति प्रयोग गरेर कार्यालय भवन जोगाएका छौँ।’