मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा - Chaitanya News
  • 2026-05-10
  • 08:17:04
  • आइतबार,बैशाख २७, २०८३
  • मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा

    मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा

    काठमाडौँ– मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन्।

    जेन जेडको आन्दोलनपछिको परिस्थितिमा चारवटै दल आन्तरिक छलफलमा छन्। आन्तरिक छलफलको निष्कर्षका आधारमा युवा नेताहरू संयुक्त छलफलमा जुटेका हुन्।

    स्रोतका अनुसार नेपाली काँग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाल भर्चुअल संवादमा छन्।

    चारवटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीन बुँदे निष्कर्षसमेत निकालेका छन्। दलहरूले आत्मसमीक्षा गर्नुपर्ने, जेन जेडका माग सम्बोधन हुनुपर्ने र पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्ने उनीहरूको निष्कर्ष छ।

    छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ।

    राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेन जेडको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन्।

    यसका साथै जेन जेडले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन्। यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन्। कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ।

    नयाँ परिस्थितिमा नयाँ सरकार गठनको विषयमा भने मुख्य दलहरू एकै धारणामा पुगेका छैनन्।