सिंहदरवार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आग्रह - Chaitanya News
  • 2026-11-13
  • 10:06:30
  • शुक्रबार,कार्तिक २८, २०८३
  • सिंहदरवार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आग्रह

    सिंहदरवार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आग्रह

    काठमाडौँ–  निजामती कर्मचारीहरूले सिंहदरवार भित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन्।

    उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन्।

    उनीहरूले आफ्नो समूहमा लेखेका छन्, ‘सिंहदरवार भित्रका सबै कर्मचारी सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौँ।’

    उनीहरूले परिस्थितिको मूल्यांकन गरेर फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ–आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरेका हुन्।

    निर्वाचित सरकार निष्क्रिय भए पनि स्थायी सरकारका प्रतिनिधि भनेर चिनिने कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने भन्दै उनीहरूले ग्रुपमा लेखेका छन्, ‘अत्यावश्यक सेवालाई सम्भव भएसम्म नियमित र सुचारु गर्ने गराउने पहल गरौँ।’

    आगजनीबाट ध्वस्त भएको सर्वोच्च अदालतका कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ अभियान थालेका थिए।

    सर्वोच्च अदालतमा करिब २५ हजार मुद्दा विचाराधीन रहेकोमा उनीहरूले करिब ३ हजार फाइल संकलन गरेका थिए, जसमा कतिपयमा आंशिक र कतिपयमा आधाजसो क्षति पुगेको छ।

    तर, सिंहदरवारमा भने त्यसको कुनै प्रयास नभएपछि कर्मचारीहरूले आफैँले सरसफाइ अभियान सुरु गरेका हुन्।