काठमाडौँ– केन्द्रीय कारागार सुनधाराबाट कैदीबन्दीहरु फरार भएका छन्। फरार हुनेमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेक नारायण पाण्डे पनि रहेका छन्।
प्रहरी स्रोतका अनुसार हिजो रातिदेखि कैदी बन्दीहरूले होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरू कारागार छोडेर बाहिरिएका थिए। त्यसपछि कैदीबन्दीहरु पनि क्रमशः भाग्न थालेका हुन्।
अधिकांश कैदी फरार भएपछि सेना परिचालन गरिएको थियो। सेनाले अहिले कारागारलाई नियन्त्रणमा लिएको छ।
यता नेपाली सेनाले भने भागेका केही कैदीलाई पक्राउ गरी पुनः कारागारमा ल्याइएको छ। तर, टोपबहादुर रायमाझी र पूर्व गृह सचिव पाण्डे भने अहिलेसम्म फर्किएका छैनन्।