नागरिक उड्डयन प्राधिकरण आगजनी हुँदा झन्डै एक दर्जन विभागका कागजात जले - Chaitanya News
  • 2026-11-09
  • 09:58:43
  • सोमबार,कार्तिक २४, २०८३
  • नागरिक उड्डयन प्राधिकरण आगजनी हुँदा झन्डै एक दर्जन विभागका कागजात जले

    नागरिक उड्डयन प्राधिकरण आगजनी हुँदा झन्डै एक दर्जन विभागका कागजात जले

    काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महत्त्वपूर्ण कागजातहरू जलेका छन्।

    जेनजी आन्दोलनका दौरान बबरमहलस्थित प्राधिकरणको कार्यालयमा मंगलबार आगजनी गरिएको थियो।

    सो क्रममा कार्यालयमा रहेका सबैजसो कागजात काम नलाग्ने गरी जलेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

    अहिले प्राधिकरणको दुई वटा कार्यालयबाट काम भइरहेको छ। त्यसमध्ये सिनामंगल कार्यालय भने सुरक्षित छ।

    बबरमहलस्थित कार्यालयमा प्राधिकरण बोर्डको सचिवालय रहेको थियो । यसैगरी प्रशासन विभाग, वित्त विभाग, आन्तरिक अडिट विभाग यहाँ थिए।

    यसैगरी वायुसेवा कम्पनीहरूको नियमका लागि महत्त्वपूर्ण मानिने सीएनएस, एटीएम, डीएएफडी, आरएफएफ जस्ता विभागहरू समेत यही बिल्डिङमा थिए।

    प्राधिकरणको सेन्ट्रल लाइब्रेरी र कानुन विभागका कागजात समेत सँगै जलेका छन्।

    आगजनीका कारण नागरिक उड्डयन प्राधिकरणका अधिकांश महत्त्वपूर्ण डाटा ध्वस्त बनेको उनले जानकारी दिए।

    प्राधिकरणको विमानस्थल कार्यालयलाई भने सेनाले सुरक्षा दिएको थियो। अवस्था केही सामान्य हुनासाथ उडानहरू खुल्ने विमानस्थल कार्यालयले जनाएको छ।