काठमाडौँ– हिजो (मंगलबार)को झडपमा सुरक्षाकर्मीबाट युवाहरूको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ।
पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरूले हतियार जिम्मा लगाएका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थान हतियार सेनाले प्राप्त गरिसकेको छ। साथै लुटपाट भएको ३३ लाख ७० हजार रुपैयाँ नगद र सञ्चार उपकरणहरू समेत नेपाली सेनाले प्राप्त गरेको छ।
जेन जेड प्रदर्शनको क्रममा मंगलबार आक्रोशित समूहले नेपाल प्रहरीहरूलाई कुटपिट गर्नुका साथै हतियार समेत खोसेका थिए। उनीहरूले प्रहरीका र अन्य सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए।
तोडफोड र आगजनीको घटनापछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ। लुटपाट र आक्रमणमा संलग्न व्यक्तिहरूलाई सेनाले नियन्त्रणमा समेत लिएको छ।
ठाउँ ठाउँमा नेपाली सेनाले गस्ती गरिरहेको छ। सोही क्रममा सेनाको टोलीलाई युवाहरूले हतियार बुझाएका हुन्।