धनगढी- सुदूरपश्चिमेलीहरूको मौलिक संस्कृति र परम्परागत जीवनशैलीलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित चैतन्य पाठशालाले यस वर्षको गौरा पर्व विशेष उत्साहका साथ मनाएको छ। विद्यालयमा अध्यापनरत शिक्षिकाहरूले संस्कृति र मौलिक पहिचानप्रतिको सम्मान स्वरूप विद्यालय प्राङ्गणमै विविध कार्यक्रमसहित गौरा पर्वलाई मनाएका छन् ।
‘संस्कृति र प्रकृति शैक्षिक दर्शन, वेद र विज्ञान, शिक्षा र संस्कार’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विद्यालयले यस पटक पनि कला, संस्कृति र परम्परागत मूल्यहरूको संरक्षणमा आफ्नो अडानलाई प्रस्ट पारेको हो।
कार्यक्रमको सुरुवात शिक्षिकाहरूले परम्परागत पहिरन र गहना लगाएर गौरादेवीको सामूहिक पूजा अर्चनाबाट गरिएको थियो। त्यसपछि गौरा गीत र देउडा नृत्य प्रस्तुत गर्दै शिक्षिकाहरूले मौलिकता र सामूहिकताको उत्कृष्ट उदाहरण पेस गरेका छन् ।
गौरा पर्व सुदूरपश्चिम र मध्यपश्चिमको प्रमुख सांस्कृतिक चाडका रूपमा हरेक वर्ष भदौ महिनामा मनाइन्छ । विशेष गरी महिलाहरूले गौरा देवीको आराधना गर्दै बिरुडा (पाँच प्रकारका अन्न) भिजाउने परम्परादेखि लिएर देउडा खेलसम्मका सांस्कृतिक अभ्यास यस पर्वसँग जोडिएका छन्। यस पर्वले नारी सशक्तीकरण, पारिवारिक एकता र सामुदायिक सहकार्यलाई प्रवद्र्धन गर्ने गरेको छ ।
चैतन्य पाठशालाको यो प्रयासले गौरा पर्वलाई केवल चाड मात्र नभई समाजलाई जोड्ने, आस्था र विश्वासलाई बलियो बनाउने संस्कारका रूपमा लिनुपर्ने धारणा दर्साएको छ । विद्यालयले स्थानीय संस्कृति र शिक्षाबिचको सम्बन्धलाई जोड्दै विद्यार्थी तथा समुदायमा मौलिक मूल्य बोध जगाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
यसरी विद्यालयमै गौरा पर्वको उल्लासपूर्ण मनाइएका दृश्यहरूले संस्कृति र शिक्षा एकर्काका परिपूरक हुन् भन्ने सन्देश दिएको छ । गौरा पर्वमार्फत चैतन्य पाठशालाले आफ्ना विद्यार्थीहरूलाई मौलिकता, आस्था र परम्परागत ज्ञानमा आधारित समाज निर्माणतर्फ प्रेरित गर्न चाहेको देखिन्छ।
![]()
![]()
![]()
![]()