काठमाडौँ– भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपाल आज आयोजक भुटानसँग भिड्दै छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ।
नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ। ५ खेलमा १ जित मात्र निकालेको नेपालको उपाधि सम्भावना सकिएको हो। नेपालले भुटानसँगको खेलमा जित निकाल्दा भारत र बंगलादेशँग २–२ पटक पराजित भएको छ।
पहिलो खेलमा भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई २–१ गोलअन्तरले हराएको थियो भने तेस्रो र चौथो खेलमा बंगलादेशसँग ३–० र ४–१ ले पराजित भएको थियो। त्यसपछि भारतसँग ५–० ले पराजित भयो।
डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ५ खेलमा १५ अंक जोडेर च्याम्पियन बनिसकेको छ भने बंगलादेश ५ खेलमा १२ अंक जोडेर दोस्रोमा छ। नेपाल ३ अंक जोडेर तेस्रोमा छ। जितविहीन भुटान चौथोमा छ।