गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली धूमधामका साथ मनाइँदै - Chaitanya News
  • 2025-11-08
  • 16:12:54
  • शनिबार,कार्तिक २३, २०८२
  • गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली धूमधामका साथ मनाइँदै

    गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली धूमधामका साथ मनाइँदै

    धनगढी – सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली धूमधामका साथ मनाइँदै छ। हिजो साँझ गौरा घरमा भित्र्याइएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौरा खला ९आँगन०मा लगेर पूजा गर्ने परम्परा रहिआएको छ।
    बर्तालु महिलाले बिरुडा (पाँच थरिका अन्न) चढाउँदै दिनभर फाग गाउँदै गौरादेवीको पूजा गर्ने चलन छ। हिजो चढाइएको दुबधागो (मन्त्रिएको धागो) आज महिलाहरूले धारण गर्छन्। तागाधारी पुरुषले जनै धारण गरेझैँ महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने संस्कार रहेको छ ।

    गौरा घरबाट सिँगारेर गौरालाई गौरा खलामा ल्याइएपछि महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्छन्। गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग पनि महिलाले फागमार्फतै सुनाउने प्रचलन छ। पूजनपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडा आफ्ना श्रीमान्, छोराछोरी तथा आफन्तलाई चिरायु दीर्घायुको कामना गर्दै अर्पण गर्ने परम्परा छ। पुरुषहरूले ठाडो खेल, ढुस्को धमारीजस्ता सांस्कृतिक खेल खेल्ने गर्छन्।

    महिलाले अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख–शान्तिका लागि व्रत बस्ने मान्यता रहिआएको छ। सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ गौरालाई मनाउने भएकाले यस अवसरमा प्रदेसिएकाहरू पनि घर फर्किने गर्छन् भने विवाहित चेलीहरू माइत आउने परम्परा छ।

     

    यसैबिच, गौरा पर्वको अवसरमा सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा दिइएको छ। सङ्घीय सरकारले आइतबार  (भदौ १५)  र प्रदेश सरकारले सोमबार (भदौ १६) बिदा घोषणा गरेपछि सुदूरपश्चिममा गौरा पर्व विशेष छुट्टै उल्लासका साथ मनाइँदै छ।