धनगढी- धनगढी उपमहानगरपालिकाले अत्याधुनिक (फोमयुक्त) दमकल सेवा सञ्चालनमा ल्याएको छ । बुधवार उपमहानगरले आयोजना गरेको विशेष समारोहमा नगर प्रमुख गोपाल हमालले दमकल उद्घाटन गर्दै औपचारिक रूपमा सेवा सुरु भएको घोषणा गरेका छन् ।
पाँच हजार लिटर पानी र पाँच सय लिटर रसायन अटाउने क्षमतासहितको यो दमकल सामान्य पानीले निभाउन नसकिने आगो नियन्त्रणमा पनि प्रभावकारी हुने उपमहानगरले जनाएको छ । पेट्रोलियम पदार्थ, प्लास्टिकजन्य वस्तु, टरपेन्टाइन, रसायनजन्य पदार्थ आदिको आगो नियन्त्रणमा यस किसिमको दमकल विशेष उपयोगी मानिन्छ ।
नगर प्रमुख हमालका अनुसार उपमहानगरपालिकाले हालसम्म आठ स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिसकेको छ, जसका कारण दमकलमा पानी भर्न सहज हुने व्यवस्था मिलाइएको छ । उनले भने, “हरघडी नगर प्रहरी भन्ने नारालाई व्यवहारिक बनाउन उपमहानगरले गरेको लगानी र तयारी सुदूरपश्चिममै अब्बल छ। आगलागीको खबर प्राप्त भएको तीन मिनेटभित्रै दमकल परिचालन गर्ने व्यवस्था मिलाइएको छ।”
दमकल खरिदमा कुल ६६ लाख ३५ हजार ३ सय ५० रुपैयाँ खर्च भएको उपमहानगरले जनाएको छ। दमकल सञ्चालनका क्रममा नगरवासीलाई अनावश्यक रूपमा सेवा प्रयोग नगरी, वास्तविक आपत्कालीन अवस्थामात्रै उपमहानगरको दमकल सेवामा जानकारी दिन आग्रह पनि नगर प्रमुख हमालले गरेका छन् ।
फोमसहितको दमकल सामान्य दमकलभन्दा फरक हुने भएकाले यसले विशेष क्षमता प्रदर्शन गर्नेछ । यसमा रहेको फोम ट्याङ्कीमा पानी र रसायन मिसाएर फोम सोलुसन बनाइन्छ र पम्पमार्फत फोम नोजल वा फोम मनिटरबाट छर्किन्छ । फोमले आगो लागेको सतहलाई छोपेर अक्सिजनलाई अलग गर्छ र सतहलाई चिसो पार्दै आगो निभाउँछ।
विशेष गरी पेट्रोलियम ट्याङ्क, ग्यास स्टेसन, विमानस्थल, ठुला कारखाना जस्ता स्थानमा हुने आगलागी नियन्त्रणका लागि यो दमकल अत्यन्तै प्रभावकारी हुने बताइएको छ। उपमहानगरले यसबाट धनगढीलाई सुरक्षित र आधुनिक सहर बनाउने लक्ष्य लिएको छ।