सुदूरपश्चिमको प्रमुख पर्व गौरा आजदेखि सुरु - Chaitanya News
  • 2026-07-17
  • 06:59:07
  • शुक्रबार,साउन ०१, २०८३
  • सुदूरपश्चिमको प्रमुख पर्व गौरा आजदेखि सुरु

    सुदूरपश्चिमको प्रमुख पर्व गौरा आजदेखि सुरु

    धनगढी-  सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आस्था, विश्वास र परम्पराको संगमका रूपमा लिइने यो पर्व विशेषगरी सुदूरपश्चिमका महिलाहरुले धुमधामसहित मनाउने गर्छन ।

    गौरा पर्वको पहिलो दिनलाई बिरुडा पञ्चमी नामले चिनिन्छ । आज व्रतालु महिलाले गहुँ, गहत, मास, गुराँस र केराउ सहित पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको प्रारम्भ गर्ने प्रचलन छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर पवित्र बनाइन्छ र त्यसमा दुबो, अक्षता तथा अन्य माङ्गलिक सामग्रीले सजाइन्छ। त्यसपछि त्यस भाँडामा बिरुडा राखिन्छ। यसरी भिजाइएका बिरुडालाई गौरीदेवीको प्रसाद मानिन्छ र गौराको पूजामा अनिवार्य रूपमा प्रयोग गरिन्छ।

    धार्मिक मान्यताअनुसार, पुत्रदा एकादशी व्रत सम्पन्न भएपछि भदौ महिनाको बिरुडा पञ्चमीबाट गौरा पर्व सुरु हुन्छ। यसअघि करिब एक महिनादेखि व्रतालुहरूले शुद्ध शाकाहार, ब्रह्मचर्य र आत्मसंयमको पालना गर्ने परम्परा रहिआएको छ। बिरुडा भिजाउने बेला घर–घरमा माङ्गलिक गीत तथा फाँग भन्ने सगुन गीत गाउँने प्रचलन अझै पनि जगेर्ना गर्दै आईएको छ।

    यस पर्वमा महिलाले पुरुषको व्रतबन्ध गरेझैँ दुवधागो लगाउने परम्परा पनि छ। यसरी दुवधागो लगाउँदा पारिवारिक समृद्धि, दीर्घायु, सुख–शान्ति र एकताको प्रतीक मानिने विश्वास गरिन्छ।

    गौरा पर्व नजिकिँदै जाँदा गाउँ–बस्तीहरू उत्सवमय बनेका छन्। गाउँघरमा देउडाका भाका गुञ्जिन थालेका छन् भने दमाहा, नगारÞ्याजस्ता परम्परागत बाजाले वातावरणलाई झन् रमाइलो बनाइदिएका छन्। सामूहिक रूपमा गाइने देउडा गीतले केवल मनोरञ्जन मात्र नभई सामाजिक एकता र सहकार्यलाई पनि मजबुत बनाउने गर्दछ। यस अवसरमा गाउँघरमा मेलापात, भेटघाट र सामूहिक उल्लासको माहोल सिर्जना भएको छ।

    इतिहास र धार्मिक ग्रन्थअनुसार, गौरा देवीलाई भगवान् शिवकी अर्धाङ्गिनी पार्वती तथा पर्वतराज हिमालय र मेनकाकी सुपुत्रीका रूपमा पूजा–आराधना गर्ने परम्परा परापूर्वकालदेखि चलिआएको हो। यसैले गौरा पर्वलाई नारीको श्रद्धा, समर्पण र धार्मिक आस्थासँगै सामाजिक–सांस्कृतिक एकताको पर्वका रूपमा पनि व्याख्या गरिन्छ।

    गौरामा महिलाहरू विशेष सजधजका साथ पूजामा सहभागी हुन्छन् भने पुरुषहरू पनि देउडा नृत्य, बाजागाजामा सक्रिय हुन्छन्। आस्थासँगै रमाइलो र उल्लासको वातावरण सृजना गर्ने यस पर्वले स्थानीय पहिचानलाई अझ बलियो बनाएको छ।

    सुदूरपश्चिमका जिल्लाहरू कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेलधुरा, बाजुरा, बाजाङ, बैतडी र डार्चुलामा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। नेपाल बाहिर पनि भारतका उत्तराखण्ड, कुमाउँ र गढवाल क्षेत्रमा गौरा पर्वको विशेष महत्व रहेको पाइन्छ। यसले सीमा नाघेर पनि सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परालाई जोगाइरहेको छ।

    यसरी गौरा पर्व धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक सहकार्यको अद्वितीय प्रतीक बनेर प्रत्येक वर्ष विशेष उल्लासका साथ मनाइने परम्परा रहिआएको छ।