सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा भोली देखि सुरु हुँदै - Chaitanya News
  • 2026-09-16
  • 15:18:12
  • बुधबार,भाद्र ३१, २०८३
  • सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा भोली देखि सुरु हुँदै

    सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा भोली देखि सुरु हुँदै

    बैतडी- सुदूरपश्चिम प्रदेशको मौलिक पहिचान मानिने गौरा पर्व यस वर्ष भदौ १२ गतेदेखि सुरु हुने भएको छ । धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा चिनिने यस पर्वको तयारी अहिले नै स्थानीय बस्ती र गाउँ–गाउँमा धमाधम सुरु भएको छ ।

    अठोला ज्योतिष डिल्लीराज जोशीका अनुसार यस वर्षको गौरा भाद्र शुक्ल पक्षमा परेको छ । शुक्ल पक्षमा परेको गौरालाई ‘उजेली गौरा’ भन्ने परम्परा छ, जुन अत्यन्तै शुभ, मङ्गल र समृद्धिको सूचकका रूपमा मानिन्छ । त्यसैले यस वर्षको गौरालाई अझै विशेष र महत्त्वपूर्ण मानिएको छ ।

    गौरा पर्वको औपचारिक सुरुवात भोली भदौ १२ गते बिरुँडा पञ्चमीका दिन हुने परम्परा छ । यस दिन गहुँ, गहत, मास, गुराँस र केराउ मिसाएर ‘बिरुँडा’ तयार पारिन्छ । परम्पराअनुसार यी अन्नलाई तामाको भाँडामा भिजाइन्छ र गौरादेवी तथा महेश्वरको पूजाआजा गरेर पर्वको सुरुवात गरिन्छ । यसरी भिजाइएका अन्नलाई आगामी दिनमा विशेष विधि अनुसार प्रयोग गर्ने गरिन्छ ।

    गौरा पर्व विशेष गरी महिलाहरूको पर्वका रूपमा परिचित छ । महिलाहरूले व्रत बस्ने, गौराको पूजा गर्ने र विभिन्न धार्मिक अनुष्ठानमा सहभागी हुने गर्छन् । यस पर्वमा महिलाहरू समूहमा भेला भई देउडा, झाँकी नृत्य, डोला खेल जस्ता सांस्कृतिक क्रियाकलापहरूमा रमाउँछन्, गौराको गीत गाएर देवीको स्तुति गर्छन्, भने सामूहिक रूपमा नाचगान गर्दै गाउँ–गाउँमा उत्सवको रौनक ल्याउँछन् ।

    गौराले मात्र धार्मिक श्रद्धा–विश्वासलाई जोड्ने नभई सामाजिक एकता र आपसी सद्भावलाई समेत मजबुत बनाउने काम गरेको छ । यस पर्वले गाउँ समाजलाई एकै ठाउँमा भेला गराउँछ, नयाँ पुस्तालाई मौलिक संस्कृति सिकाउने अवसर दिन्छ र सामूहिकतामा आधारित जीवनशैलीलाई अझ सुदृढ बनाउँछ ।