काठमाडौं– हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदै छ।
विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ। तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मंगलबार को व्रतका लागि पूर्व तयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद्हरुको मान्यता रहेको छ।
पहिले पहिलेका महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका थिए। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्ने चलन थियो। जन्म घरबाट कर्म घरमा गई बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका थिए। तर, पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ। एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको पाइन्छ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्छ भन्ने मेरो भनाई हो । एक महिनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेको छ । पहिलेको तीजमा माइतीले चेलीको घर गई माइतमा लिएर आएपछि दर खुवाउने प्रचलन थियो भने अहिलेको तीज भनेको सहरका विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा तीज पर्व मनाइरहेका छन्। संस्कृतिलाई विकृतितर्फ रुपान्तरण गरिरहेका छन्। महिना दिनअगाडि बाट नै तीज पर्व मनाउनु कति सुखद्रु, तीज पर्व नमनाउनु भन्ने होइन। तर, तीजको नाममा भड्किलो खर्च गर्नु, नवपुस्तामा नकारात्मक असर पर्ने गरी पर्व मनाउनु हुँदैन भन्ने कुरा मात्र हो। अहिलेको संस्कृति भनेको विकृतितर्फ मोडिरहेको उदाहरणहरु एक दुई मात्र होइन सयौँ रहेका छन्। पुराना पुस्ताले सिकाएको संस्कृतिलाई नै भुलेर यसलाई विकृति बनाउनु हुन्न भन्ने मेरो व्यक्तिगत धारणा मात्रै हो। यहाँ तीजको नाममा एक महिना अगाडिबाटै दर खाने, भोज भतेर, मादक पदार्थ तथा तीजको नाममा देखासिकी प्रवित्ति हावी भएको छ।
म सानो छदा आमासँग तीजमा मावल गएको थिएँ। मावलमा तीज पर्व मनाउदाँ दर खाने दिन (हरितालिका तीज वर्तको अघिल्लो दिन) दहि, घिउ, कांक्रा, आलु र मटरको अचार सँग रातो चामलको भात खाएको झझल्को अहिले जस्तो लाग्छ। त्यसलाई दर भनिन्थ्यो। दर खाएपछि वर्षौ पछि भेट भएका दिदी बहीनीहरुले आफ्ना दःख बेदनाहरु गीतबाट पोख्दै नाचगान गरेर सुत्थ्ये मामाहरुले दर पकाउनुहुन्थ्यो आमा, सानिमा अनि वर्षौ पछि भेट भएका साथिहरु आ–आफ्ना सुख दःखका कुराहरु सुनाउँदै सँगै खाएर सुत्थ्ये। विहान आमा, सानिमाहरु नुहाएर पुजाआजा गर्नुहुन्थ्यो, दिनभर वर्त लिएपछि नाचगान गरी साँझमा बाको अनुमतिमा पानी मात्रै खानुहुन्थ्यो अहिले ति कुराहरु सम्झनामा मात्र छन सायद। अहिले त्यो कुरा नवपुस्ता अथवा सहरमा सुनायो भने बनावटी भाषण जस्तो मात्र हुन्छ। अर्थात्, भनौँ नवपुस्तालाई यस्ता कुराहरु पच्दैन।
पछिल्लो समय महिनादिन अघि देखी नै तिजको दर खाने चलन बढ्दै जाँदा यसले समाज र संस्कृतिमा समेत असर परेको पाइएको छ। महिनादिन अघि नै विभिन्न ठाउँमा दर खान जाँदा त्यसका निम्ती पहिरन र खानपानका लागि खर्च बढ्दै गएको धेरैको अनुभूति छ। विभिन्न पार्टि प्यालेस, होटल , क्याफे या घरमा केही दिन अघिदेखी दिनहुँ जसो दरको कार्यक्रम भइरहेको छ। सामाजिक सन्जालमा विभिन्न मदिराजन्य पेय पदार्थ पीयर उच्छृङ्खल तरिकाले नाच्ने र गाउँने गरेका कृयाकलापका भिडियो र तस्बीर पोष्ट भइरहेका छन्।
पछिल्लो समय तिज र दरमा बढि शहरीकरण र तडकभडक मिसिदै गएको छ। अहिले पैसा हुने र नहुनेबीचको खाँडल तिज र दरले ल्याएको छ , पहिला घरमा गरेका दैनिक कामबाट फुर्सद लिन र पीडा भूलाउन माइत गएर दर खाने चलन थियो , र्, श्रीमान्सँगको माया र माइतीसँगको सम्बन्ध जोडिएको चाड अहिले आएर देखावटी , तडकभडक बनेको छ।
पहिला पहिला माइतीमा गएर बुबा , आमाले राती १२ बजे पकाएर खुवाउने दर अहिले दिनदिनै पार्टि प्यालेसमा गएर मनाइएकोमा दुख लाग्छ र्। दर त बबा आमाले माईती घरमा खुवाउने होईन र ? के क्यारेटिङ पकाएको दर खाइरहेका हाम्रा लागि ती क्याटरिङ माइती हुन् त।
दरसँगै सुरु हुँदै चार दिने तीज:
दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। यस वर्ष गणेश चौथी भदौ ११ गते बुधबार ,ऋषिपञ्चमी पर्व भदौ १२ गते बिहिबार, मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको मान्यता छ।
पछिल्लो समय महिनादिन अघि देखी नै दर खाने चलन बढ्दै जाँदा यसको मौलिकता हराएको छ। ,तिज र दर खाने परम्परागत संस्कृति पछिल्लो आधुनिकताले हराउँदै गएको छ। जे थियो त्यो मासिँदै गएको छ। र सबै मोर्डन भएका छन्। यस्तै हो भने अब आउने पुस्ताले तिज के हो भन्ने कुरा पनि भुल्ने छन् ।