स्वास्थ्य नीति २०८२ सार्वजनिक - Chaitanya News
  • 2026-05-30
  • 14:38:12
  • शनिबार,जेठ १६, २०८३
  • स्वास्थ्य नीति २०८२ सार्वजनिक

    स्वास्थ्य नीति २०८२ सार्वजनिक

    काठमाडौँ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’सार्वजनिक गरेको छ।

    प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवनयापन गर्न सक्षम हुन भन्ने उद्देश्यसहित स्वास्थ्य नीति सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य नीतिमा छ उद्देश्य, २६ वटा नीति तथा रणनीति रहेका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले जानकारी दिए। प्रदेश सरकारको गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको थियो।

    मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त स्वास्थ्य नीति आज वेबसाइट र मन्त्रालयको सामाजिक सञ्जाल फेसबुक पेजमा राखिएको सूचना अधिकारी राईले बताए।

    उनका अनुसार स्वास्थ्य नीतिमा प्रदेशमा सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त र व्यवस्थित पूर्वाधार नहुनु, प्रदेश तहका अस्पतालबाट कतिपय सेवाहरू गुणस्तरीय रूपमा प्रवाह हुन नसक्नु, स्वास्थ्य क्षेत्रको आवश्यकताअनुसार पर्याप्त जनशक्तिको दरबन्दी नहुनु, उपलब्ध जनशक्तिको उचित व्यवस्थापन हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार पर्याप्त र उचित लगानी हुन नसक्नुलगायत समस्या उल्लेख गरिएको छ।

    त्यस्तै, विशेषज्ञ चिकित्सकीय सेवा र सघन उपचार सेवा विस्तार हुन नसक्नु, पाँच वर्षमुनिका एक तिहाइ बालबालिकामा रक्तअल्पता र प्रजनन उमेरका महिलामा न्यून पोषणको समस्या व्याप्त हुनु, क्षयरोग, कुष्ठरोग, उपेक्षित उष्णप्रदेशीय रोग तथा कीटजन्य रोगको सङ्क्रमणदर प्रदेशमा उच्च हुनु मुख्य समस्याका रूपमा रहेका छन्।

    स्वास्थ्य नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ रहेको मन्त्रालयका सूचना अधिकारी राईले जानकारी दिए।

    प्रदेशभित्रका विद्यमान, सम्भावित, उदीयमान, पुनस्उदीयमान र स्वास्थ्य चुनौतीहरू समाधान गर्न प्रदेश स्वास्थ्य नीति बनाइएको उनले बताए।

    राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण ९२०२०० अनुसार कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्या अन्य प्रदेशको तुलनामा उच्च रहेको पाइएको छ। उक्त सर्वेक्षणका अनुसार मानसिक रोगको व्यापकता १३ दशमलव ९५, किशोरावस्थामा मानसिक रोग ११ दशमलव ४५, मद्यपानको लतका कारण छ दशमलव ५५, लागुऔषधको दुर्व्यसनका कारण शून्य दशमलव ४५ र आत्महत्याको सोचको व्यापकता १० दशमलव ६५ रहेको छ।