वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर कुशे औँसी पर्व श्रद्धा–भक्तिसहित मनाइरहेका छन् । भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा देव कार्य तथा पितृ कार्यका लागि पवित्र मानिने कुश घर–घरमा भित्र्याउने चलन छ ।
धार्मिक विश्वासअनुसार शास्त्रोक्त विधिअनुसार ब्राह्मणले पूजा गरी उखेलेर ल्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने मान्यता छ । आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न मिल्ने भए पनि अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्न सकिन्छ भन्ने परम्परा रहेको छ ।
आजै कुशे औँसी अर्थात् आज बुबाको मुख हेर्ने दिन पनि परेको छ । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् ।
यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खास गरी गोकर्ण र विष्णु पादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
पितृ दिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खास गरी जीवनको अन्धकारमय रातमै गर्ने हुँदा अमावस्याका दिनमै ती दुवै दिवसहरू मान्ने गरिआएको हो ।
छोराछोरी आमा बाबुकै प्रतिरूप हुन् । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो, विगतलाई नियाल्दै प्रतिपथमा लम्कनु हो भन्ने मान्यता रही आएको छ । यस दिवसमा जीवित माता पिताहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्टान्न तथा अरू अनेकौँ लगा आदिहरू ल्याई चढाउने चलन छ ।
यसबाहेक दिवङ्गत भएका आमा बाबुहरूको सम्झनामा तीर्थमा गई नुहाई धोआई गर्नुको साथै श्रद्धाञ्जली स्वरूप तर्पण दिने कार्य गर्दछन् । सम्बन्धित तीर्थमा जान नसक्नेहरू आ–आफ्ना पुरोहित वा कर्मनिष्ठ ब्राह्मणकहाँ गई सीधा दान दिनेसमेत चलन पुरानो हो ।
यस दिनमा विशेष गरी बुबा हुनेहरूले जीवित रूपमा नै मुख हेर्ने गर्छन् । तर बुबा नहुनेहरू पवित्र स्थल त्रिवेणी अर्थात् दुई नदीको सङ्गममा गएर पितृ श्राद्ध गर्ने चलन पनि छ ।
विशेष गरी काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा ठुलो मेला लाग्छ । यस कारण आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । गोकर्णेश्वरमा बाबुको नाममा तर्पण, पिण्ड दान र सिदादान गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।
त्यस्तै रसुवा–नुवाकोटको सङ्गम स्थल बेत्रावतीमा पनि मेला लाग्ने परम्परा छ, जहाँ बाबु दिवङ्गत भएका सन्तानहरूले धार्मिक विधिअनुसार श्रद्धा अर्पण गर्ने गर्दछन् ।