चैतन्य दोस्रो तीज विशेष आमा नृत्य प्रतियोगिता तथा दर कार्यक्रम भव्य रूपमा सम्पन्न - Chaitanya News
  • 2026-07-16
  • 01:03:25
  • बुधबार,आषाढ ३१, २०८३
  • चैतन्य दोस्रो तीज विशेष आमा नृत्य प्रतियोगिता तथा दर कार्यक्रम भव्य रूपमा सम्पन्न

    चैतन्य दोस्रो तीज विशेष आमा नृत्य प्रतियोगिता तथा दर कार्यक्रम भव्य रूपमा सम्पन्न

    धनगढी– शिक्षा र संस्कारको सङ्गम वेद र विज्ञानको संयोजन प्रकृति र संस्कृतिको सम्मान भन्ने मूल भाव बोकेको चैतन्य पाठशालाले हिन्दू नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा चैतन्य दोस्रो तीज विशेष आमा नृत्य प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

    ज्येष्ठ आमा नागरिक पार्वती बमको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रेरक उपस्थितिको रूपमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री माननीय सरस्वती खड्का रहेकी थिइन्। त्यस्तै कार्यक्रममा प्रेरक उपस्थितिकै रूपमा कैलाली जिल्ला समन्वय समिति प्रमुख टिकाकुमारी भुल रहेकी थिइन्।

    कार्यक्रममा पाठशालाकी सह–प्रधानाध्यापक सपना सिंहले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन । पाठशालाको प्राङ्गणमा बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा सहभागी प्रतियोगीहरूमध्ये अनिता भण्डारी प्रथम भगवती साउद द्वितीय दिपा अधिकारी तृतीय र पूर्णिमा खड्का सान्त्वना स्थान हात पार्न सफल भएका छन्।
    प्रथम द्वितीय तृतीय र सान्त्वना स्थान हात पार्न सफल प्रतियोगीहरूलाई क्रमशः रु. ५,००० ३,००० २०००, १००० र प्रमाणपत्र सहित सम्मान गरिएको छ। कार्यक्रमको निर्णायकको रूपमा नृत्य निर्देशक केशव बलायर खगेन्द्र बिसी र ऋतु सुनार रहेका थिए ।
    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टिकाकुमारी भुलले पछिल्लो समयमा तीजको नाममा विकृति बढ्दै गएको अवस्थामा चैतन्य पाठशालाले आयोजना गरेको यो कार्यक्रम अनुकरणीय रहेको बताएकी छन्।
    उनले भनिन् “शिक्षा र संस्कारको सङ्गमको नाराले नै चैतन्य पाठशालाले मेरो मन जित्न सफल भएको छ। त्यसैले चैतन्य पाठशालाको एक अभिभावक हुन पाउँदा आफूलाई गर्व लागेको छ” । साथै तीज पर्वलाई रमाइलोको रूपमा मात्रै नभएर संस्कृतिसँग जोडेर समेत उल्लासपूर्ण वातावरणमा मनाउनुपर्ने उनले जोड दिएकी छन्।

    त्यस्तै कार्यक्रममा प्रमुख प्रेरक उपस्थितिको रूपमा रहनुभएकी सामाजिक विकास राज्यमन्त्री मा.सरस्वती खड्काले पछिल्लो समयमा महिलाहरूले चुलो चौकोबाट केही माथि उठेर समाजसँग जोडिँदै आएको अवस्थामा चैतन्य पाठशालाले गर्ने यस्ता कार्यक्रमहरूमा सहभागी हुन पाउँदा आफूलाई खुसी लाग्ने गरेको बताएकी छन्। उनले आफ्नो चैतन्य पाठशालामा यो दोस्रो पटकको कार्यक्रम भएको र अनौपचारिक रूपमा समेत बेलाबेलामा चैतन्य पाठशालासँग छलफल गरिरहेको र चैतन्य पाठशालाको समग्र विकासका लागि आफू र आफ्नो मन्त्रालय सदैव तयार रहने भनाई व्यक्त गरेकी छन्।

    कार्यक्रमको समापन समारोहमा बोल्दै चैतन्य पाठशालाका निर्देशक कटक ब. सिंहले चैतन्यले आयोजना गरेको यो कार्यक्रममा अभिभावकको उपस्थितिले आफू हर्षित भएको भनाइ व्यक्त गरेका छन्। उनले चैतन्य पाठशालाले बेलाबेलामा समुदाय स्तरमा जोडिने हेतुले विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आएको र यसमा यहाँहरूको साथ सहयोगले समेत हौसला मिलेको छ साथै आगामी दिनमा यस्तै साथ सहयोगको समेत आशा व्यक्त गरेका छन्। चैतन्यले आयोजना गरेको यो कार्यक्रमको सफलता साँगै आगामी तेस्रो संस्करण आयोजना गरिने बताए ।