काठमाडौँ– भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ। ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न भारतले स्वीकृत दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो।
प्राधिकरणका अनुसार यसअघि अनुमति प्राप्त ८१०.९ मेवा र गत साउन २६ मा थप २०० मेगावाट विद्युत् निर्यातको सहमति दिएको थियो। यस अघि अनुमति प्राप्त ८१०.९ मेवामा र थप २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको थियो।
भारत सरकारले अझ थप ८० मेगावाट विद्युत् निर्यात गर्न दिएसँगै नेपालले १०९०.९ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ।
वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ। भारतसँगै नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ।
बङ्गलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।
नेपाल र भारतबिचको द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि बिजुली निर्यात गर्न पाउने भएको छ। आगामी ३१ अक्टोबर २०२६ सम्मको बिजुली निर्यात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
गत साउनमा मात्रै भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको थियो।
पछिल्लो पटक श्रावण २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि रहेको छ। यस अन्तर्गत लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् निर्यात हुने छ।
आर्थिक वर्ष २०८१–०८२ मा नेपालबाट १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ। त्यसमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले चालु आर्थिक वर्षमा निर्यात दोब्बर हुने अनुमान प्राधिकरणले गरेको छ।