काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने विषय नियमावलीमा समावेश गरेर जाने सहमति गरेर जान प्रस्ताव गरेका छन्।
आज (सोमबार) प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् ।
यो विषयमा आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसे पनि सहमति जुटाउन सकेको थिएन ।निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेका छन्। समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने बताइरहेका छन्।
गत २२ साउनमा बसेको बैठकमा यसबाट आवास र पोशाक झिक्नुपर्ने प्रस्ताव राखिएको थियो। तर सदस्यहरूले नमानेपछि प्रस्ताव पारित हुन सकेको थिएन। यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन्।
विधेयकमा शिक्षक महासङ्घले पनि असन्तुष्टि जनाएको छ । महासङ्घले पनि भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।