काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९ अंकभन्दा धेरै बढेको छ। आइतबारको तुलनामा नेप्से कारोबार रकम डेढ अर्बले घटे पनि परिसूचक भने सकारात्मक भएको हो।
धितोपत्र बजारमा सूचिकृत अधिकांश कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण आइसकेको अवस्था छ। सेयर लगानीकर्ताले पनि कुन कम्पनीले कस्तो प्रतिफल दिन्छ भन्ने पूर्वानुमान गरिसकेको हुनाले पनि सोमबार नेप्से परिसूचकमा सुधार आएको हुन सक्छ।
सोमबार कारोबार सुरु हुँदादेखि बढ्न थालेको नेप्से करिब एक घण्टापछि घटेको थियो। त्यसपछि सुधारको क्रम बन्द हुँदासम्म कायम रहेपछि उतारचढाव भने आइराख्यो।
कारोबार सुरु हुँदा २७६१.२२ अंकमा रहेको नेप्से सूचक ९.१६ अंकले बढेर २७७०.३९ अंक पुगेको छ। सोमबार नेप्सेमा कारोबार भएका बैंक, विकास बैंक, जलविद्युत् क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ।
नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २.५३, विकास बैंक १८.३३, फाइनान्स २.२९, होटल र पर्यटन १७.१९, जलविद्युत ३४.७७, लगानी ०.४८, जीवन बीमा ४२.६६, उत्पादनमूलक ३७.७५, लघुवित्त ५.२०, निर्जीवन बीमा ४७.४५ र व्यापार समूह ५३.३८ अंकले बढेका छन्। तर, सोमबार सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ अंकले घटेका छन्।
सोमबार नेप्सेमा कारोबार भएकामध्ये १ सय ७५ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। सोमबार नेप्सेमा ३ सय २० कम्पनीको ६७ हजार ९ सय ९५ कारोबारबाट ६ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो। आइतबार नेप्सेमा ७ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो।