काठमाडौं– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ।
आज (सोमबार) भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो।
मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो।
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन। उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। आक्रमक ब्याटिङ गरेका कुशल भुर्तेल १३ बलमा ४ चौका मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए। लगत्तै भिम शार्की व्यक्तिगत १ रनमा आउट हुँदा नेपाल ४ ओभरमा ३२(२ को स्थितीमा थियो। त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाएका थिए।
रोहित र आसिफ लगातार आउट भएपछि नेपाललाई धक्का लागेको थियो। रोहित १६औं ओभरमा ३३ रनमा आउट भए। ३१ बल खेलेका उनले ३ चौका प्रहार गरे।
त्यसपछि क्रिजमा गएका नेपाली खेलाडी लगातार विकेट गुमाए। कुशल मल्ल ११, दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए।
मेलबर्न स्टार्स एकेडेमीका लागि अस्टिन अन्लेजार्क र डग वारेनले २(२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो।
मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए। थोमस रोजर्सले ६५ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। कप्तान क्याम्पबेल केलावे व्यक्तिगत २ रनमा पहिलो ओभरमै आउट भएपनि ब्लेक र थोमसले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए। यस्तै २ खेलाडी रनआउट भए
नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश ए सँग पराजित भएको थियो। नेपालले अब होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।