काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अस्थिरताको खोजी गर्नेहरू नटिक्ने र सरकार कुनै हालतमा नढल्ने दाबी गरेका छन्।
आज (आइतबार) नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले प्रतिगामी तत्त्वहरू चलमलाउने कोशिस गरेको भन्दै अहिले उनीहरू किनारामा लागेको बताए। ‘अब उनीहरू कहिल्यै उठ्न सक्दैनन्। उनीहरूले जन्मसिद्ध श्रेष्ठताको थोत्रो नारा बोकेर हिँडेका छन्’ उनले भने।
उपप्रधानमन्त्री पौडेलले मध्य वर्षामा खहरेहरू उर्लिने भन्दै राजनीतिमा पनि त्यस्तो देखिने बताए।
उनले प्रतिगामी तत्वहरुमा राजनीतिक एजेन्डा नभएको भन्दै विरोधमा रमाएर, उद्देश्यविहीन ढंगले हिड्नेहरुको कुनै भविष्य नरहेको बताए। उनले भने, ‘खहरेको कुनै भविष्य छैन। वर्षा सकिएपछि खोलामा कमिला हिँड्छ । यो सरकार नै स्थिर सरकार हो। यो समीकरण नै स्थिर समीकरण हो।
उपप्रधानमन्त्री पौडेलले बल्ढेगगढीदेखि बाँकामलासम्मलाई सम्बोधन गरेको भन्दै कालीगण्डकी करिडोर पूर्ण रूपमा सम्पन्न गर्ने, रामपुर सुन्दरढुंगा सडक, मित्याल अरुण खोला सडक, बाँसटारी दुम्किबास सडक, माडी चक्रपथ, तानसेनको सौन्दर्यकरण, उदाउँदो सहरको रूपमा विकास गर्नुपर्ने बताए। आधुनिक सहरको पूर्वाधारको रूपमा विकास गर्नुपर्ने उनको भनाई छ।