काठमाडौं– प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन्। भारतीय वायुसेनाको विमानबाट मिश्री त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन्।
काठमाडौं पुगेका मिश्रीले सुरुमा समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन्। मिश्री राईको निमन्त्रणामा नेपाल आएका हुन्। मिश्रीले आजै प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ।
प्रधानमन्त्रीसँगको भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनेछन्। प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी छ। मिश्रीको भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ।
प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो। विदेश सचिव मिस्रीको काठमाडौंमा हुने भेटवार्तामा प्रधानमन्त्री भारत भ्रमणका एजेण्डाको द्विपक्षीय तयारी गरिने छ।