(एमसीसी) सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुनः काम सुरु, लाग्यो २१ अर्बका दुई ठेक्का - Chaitanya News
  • 2026-11-12
  • 17:17:20
  • बिहिबार,कार्तिक २७, २०८३
  • (एमसीसी) सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुनः काम सुरु, लाग्यो २१ अर्बका दुई ठेक्का

    (एमसीसी) सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुनः काम सुरु, लाग्यो २१ अर्बका दुई ठेक्का

    काठमाडौं– अमेरिकी सहयोग नियोग (एमसीसी) सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुनः काम सुरु भएको छ।

    एमसीए–नेपालले विद्युत् प्रसारण लाइन निर्माणका दुई ठूला ठेक्का सम्झौता गरेसँगै नेपालमा एमसीसीको सहयोग पुनः सक्रिय भएर काम अघि बढेको हो।

    ‘अमेरिकी सरकारबाट वैदेशिक सहायता समीक्षा सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धता साथ एमसीसीको नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ,’ एमसीए नेपालले भनेको छ।

    एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली र नयाँ दमौली–बुटवल ४०० केभी प्रसारण लाइन निर्माण सम्झौता गरेको हो। एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माण सम्झौता एन्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ–दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको हो।

    यी दुई प्रसारण लाइनको कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर अर्थात् २१ अर्ब १७ करोड रुपैयाँ रहेको छ। यी दुई परियोजना अन्तर्गत १ सय ८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन लगायत काम गरिने एमसीए–नेपालले जनाएको छ।

    यो ठेक्का सम्झौतामा गत बिहीबार एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट र दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरे।

    ‘यी सम्झौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको छ’, एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विंगलले भने, ‘नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित छौं।’