काठमाडौँ– मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भू–भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ।
जसको प्रभावले देशभर पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
यस्तै, आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधरणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार, आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति देशको पहाडी भू–भागमा साधरणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।