कैलाली –“दिगो विकास र सुनौलो भविष्यको सार स्थानीय युवाको सहभागिता समृद्धिका आधार” भन्ने मूल नारासहित आज विश्वभर २५औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ।
यसै अवसरमा, घोडाघोडी नगरपालिका–१० पहलवानपुरस्थित सहारा युवा क्लबले विशेष रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सर्वाधिक शतक रक्तदाता तथा रक्तदान सद्भावना दूत दीपक उपाध्यायले आफ्नो ११०औँ पटक रक्तदान गरे। क्लबका अध्यक्ष निर्मल कुमार मिश्रका अनुसार उपाध्यायसहित ५१ जनाले रगत दान गरेका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय युवा दिवसकै अवसर पारेर नेपाली युवा उद्यमी मञ्च धनगढी च्याप्टरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।, जसमा १५ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष अच्युत दहलाले जानकारी दिएका छन् ।
रक्तदानको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै सहारा युवा क्लबले उपाध्यायलाई घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावत र क्लब अध्यक्ष मिश्रकोबाट प्रशंसा पत्रसहित सम्मान गरेको छ ।
त्यसै गरी, नेपाली युवा उद्यमी मञ्च धनगढीले पनि उपाध्यायलाई सम्मान गरेको छ । मञ्चका अध्यक्ष दाहाल र संस्थापक अध्यक्ष पुष्कर ओझाले सयौँ पटक रक्तदान गर्दै रगतको अभावमा रहेका हजारौँको जीवन बचाउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनलाई दोहोरो प्रशंसा पत्र र नगदसहित सम्मान गरिएको मञ्चका प्रथम उपाध्यक्ष आशिष शाहले बताए ।
सन् १९९८ मा पोर्चुगल सरकारले संयुक्त राष्ट्र सङ्घको सहयोगमा आयोजना गरेको युवाका लागि जिम्मेवार मन्त्रीहरूको विश्व सम्मेलनको पहिलो सत्रले हरेक वर्षको १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो । यो सिफारिसलाई सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घ महासभाको ५४औँ सत्रले “युवाहरू संलग्न नीतिहरू र कार्यक्रमहरू” शीर्षकको प्रस्तावमार्फत अनुमोदन गरेको हो। त्यसयता हरेक वर्ष १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ ।