कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न सांसद एनपी साउदको माग - Chaitanya News
  • 2026-11-13
  • 21:39:12
  • शुक्रबार,कार्तिक २८, २०८३
  • कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न सांसद एनपी साउदको माग

    कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न सांसद एनपी साउदको माग

    काठमाडौँ– नेपाली काँग्रेसका सांसद एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विभिन्न समयमा गठन भएका आयोगहरूले गरेको सिफारिस तत्काल लागू गरी कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गृहजिल्ला कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधानका लागि गठन गरिएका आयोगहरूको सिफारिस तत्काल लागू गर्न माग गरेका हुन्।

    उनले भने, ‘अहिले आरक्षपीडितहरू आमरण अनसन बसेको अवस्था छ। आरक्षपीडित समस्याले दशकौँदेखि जंगलमा बसोबास गरिरहेका पीडित र तिनका बालबालिकाको शिक्षा, स्वास्थ्यसमेत दृष्टिगत गरी आफैँले गठन गरेका आयोगका सिफारिस तत्काल लागू गरी सरकारले समस्या समाधान गरोस्।’

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षपीडितहरूको समस्या समाधानका लागि अहिलेसम्म राज्यले करोडौँ खर्च गरेर विभिन्न राजनीतिक, प्रशासनिक र अर्धन्यायिक आयोगहरू गठन गरिसकेको उनले बताए।

    उनले थपे, ‘३४ आयोग बनिसकेका छन्। करोडौँ खर्च भइसकेको छ । सबै आयोगले लगभग सहमतिमा निर्णयहरू सिफारिस गर्ने गर्दछन् । आरक्षपीडित समस्या वास्तविक छ। जग्गा मुआब्जा आरक्ष विस्तार गरेका कारणले सुकुम्वासी भएका आरक्षपीडितहरूलाई उपलब्ध गराउनुपर्छ।