गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती - Chaitanya News
  • 2026-11-14
  • 08:21:34
  • शनिबार,कार्तिक २९, २०८३
  • गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती

    गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती

    काठमाडौँ– गण्डकी प्रदेश सरकारले ७ निर्देशनालय खारेज गरेको छ। साथै १८५ कर्मचारी दरबन्दी कटौती समेत भएको छ।

    यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ।

    आज (सोमबार) बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय गरेको हो।

    यसैगरी प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र समेत खारेज गर्ने निर्णय भएको छ।

    यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

    गण्डकी सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति गठन गरेको थियो । २०८१ चैतमा गठन भएको सो समितिमा पूर्वसहसचिव महेश्वर नरसिंह केसी र अर्का सहसचिव अच्युत लामिछाने सदस्य थिए।