काठमाडौँ– आज (शुक्रबार) एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ ।जसअनुसार, अहिले बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक सुरु भएको छ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल भइरहेको छ।
त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवन निर्माणको हालको अवस्था र कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान सवा ९ बजे बस्नेछ ।
त्यस्तै, सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल हुने कार्यसूची तय भएको छ । बैठक बिहान ११ बजे बस्दैछ ।
यसैगरी, मध्यान्ह सवा १२ का लागि बोलाएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदन माथि छलफल हुने कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरुसँग छलफल, वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञसँग छलफल हुनेछ।