बेइजिङ– चीनमा चिकुनगुनिया संक्रमितको संख्या सात हजार नाघेको छ। गुवाङदोङ प्रान्तमा जुलाईयता लामखुट्टेले टोकेर हुने यो रोगका सात हजारभन्दा धेरै बिरामी भेटिएका हुन्।
संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा अपनाइएका जस्तै उपाय पालना गर्न आग्रह गरेको छ। अस्पतालमा झुल हालेर बिरामीहरुलाई राखिएको छ।
चिकुनगुनिया संक्रमणबाट सबैभन्दा बढी फोसान सहर प्रभावित भएको छ। फोसानबाहेक गुवाङदोङका कम्तीमा अरु १२ सहरमा पनि संक्रमित भेटिएका छन्। गत हप्ता मात्रै संक्रमितको संख्या तीन हजारले बढेको थियो।
परीक्षणको नतिजा नकारात्मक आएपछि मात्रै बिरामीलाई अस्पतालबाट घर जान दिइन्छ। केहीलाई भने एक हप्तासम्म अस्पतालमा राख्नुपरेको छ।
चिकुनगुनिया संक्रमित लामखुट्टेले टोकेर फैलिन्छ। यसबाट संक्रमित भएका व्यक्तिलाई ज्वरो आउने जोर्नी दुख्ने जस्ता लक्षण देखिन्छ। यीमध्ये केही लक्षण त वर्षौंसम्म पनि रहन्छ। चीनमा चिकुनगुनियाको प्रकोप कमै देखिन्छ। यसको संक्रमण खासगरी दक्षिण र दक्षिणपूर्वी एसिया र अफ्रिकाका केही हिस्सामा बढी पाइन्छ।