काठमाडौँ– आज (शुक्रबार) एकै दिन संघीय संसद्अन्तर्गत विभिन्न चारवटा संसदीय समितिको बैठक बस्ने तय भएको छ।
जसअनुसार, दिउसो १२ः३० बजे बस्ने तय भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। बैठक समितिको आफ्नै कार्यकक्षमा बस्ने तय भएको छ।
यस्तै अपराह्ने २ः३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको छ। समितिको बैठक पनि कार्यकक्षमा नै बस्दैछ।
अपराह्न १ः०० बजे बस्ने तय भएको विधायन व्यवस्थापन समितिको बैठक पनि आफ्नै कक्षमा बस्दैछ। बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
यसैगरी बिहान ११ः ०० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षा’मा छलफल हुनेछ ।