काठमाडौँ– गृह मन्त्रालयले दुई सीडीओ परिवर्तन गरेको छ । मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूलाई मन्त्रालयमा तानिएको हो।
रुपन्देहीमा डा.टोकराज पाण्डे र सिन्धुपाल्चोक बन्धुप्रसाद बास्तोलालाई पठाउने निर्णय पनि मन्त्री लेखकले गरेका मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ। यो निर्णय सोमबार गरिए पनि आइतबारबाट रिक्त भएको मन्त्रालयको प्रवक्ता मन्त्री लेखकले कसैलाई तोकेनन्।
गत असार ३१ गते मन्त्रालयको प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो। उनी आइतबार मन्त्रालयबाट बिदा भई विभागमा हाजिर भएपछि प्रवक्ता रिक्त भएको हो।
मन्त्रालयको प्रवक्तामा अध्यागमन विभागको महानिर्देशकबाट मन्त्रालयमा तानिएका सहसचिव गोविन्द रिजाल र मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव जयनारायण आचार्यको सम्भावना छ। दुवै जना काठमाडौँका प्रमुख जिल्ला अधिकारी भइसकेकाले उनीहरू मध्यबाटै एक जना मन्त्रालयको प्रवक्ता हुने स्रोतले जानकारी दियो।