आज एकै दिन पाँच संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-10
  • 14:14:55
  • आइतबार,बैशाख २७, २०८३
  • आज एकै दिन पाँच संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज एकै दिन पाँच संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (आइतबार) एकै दिन पाँचवटा संसदीय समितिहरूको बैठक बस्दैछन्।

    अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसुची रहेको छ। चालु आवको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए–नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिने कार्यसूचीमा समावेस छ।

    यस्तै, कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने छन्।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। लेखा समितिको बैठकमा ‘महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदन’उपर छलफल हुने कार्यसूची तय भएको छ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)मा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने संघीय संसदको सचिवालयले जनाएको छ ।