संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई निजामती सेवामा समावेश गर्न माग - Chaitanya News
  • 2026-06-07
  • 17:39:53
  • आइतबार,जेठ २४, २०८३
  • संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई निजामती सेवामा समावेश गर्न माग

    संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई निजामती सेवामा समावेश गर्न माग

    काठमाडौँ– नेकपा एमाले निकट नेपाल कर्मचारी सङ्गठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरूलाई निजामती सेवामा समावेश गर्न माग गरेको छ।

    आज (बिहीबार) शहीद स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रमहरूको जानकारी दिन काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्गठनले कार्यालय सहयोगीबाहेक अन्य पदहरुमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने सङ्गठनको माग गरेको हो।

    पत्रकार सम्मेलनमा बोल्दै सङ्गठनका प्रवक्ता रामचन्द्र अधिकारीले संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीको तह र श्रेणी समायोजन, निवृत्तिभरण, करार सेवामा कार्यरत कर्मचारीहरुको स्थायित्व लगायतका मागहरू सम्बोधन गरिनुपर्ने बताए।

    उनले विधेयकमार्फत कर्मचारीको हक र अधिकार सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको पनि बताए। साथै सङ्गठनले सहिद स्मृति दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने जनाएको छ।

    २०४८ सालको ५६ दिने आन्दोलनका क्रममा शहीद भएकाहरूको स्मरणमा ‘शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस’ मनाइने प्रवक्ता अधिकारीले बताए।