कुलिङ पिरियडको गडबडीबारे छानबिन समितिको सोधपुछ अन्तिम चरणमा पुग्यो - Chaitanya News
  • 2026-06-07
  • 17:38:24
  • आइतबार,जेठ २४, २०८३
  • कुलिङ पिरियडको गडबडीबारे छानबिन समितिको सोधपुछ अन्तिम चरणमा पुग्यो

    कुलिङ पिरियडको गडबडीबारे छानबिन समितिको सोधपुछ अन्तिम चरणमा पुग्यो

    काठमाडौं– कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सोधपुछलाई अन्तिम चरणमा पुर्‍याएको छ।

    मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र सहसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सहसचिव, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुममार दुरा लगायत राजनीतिक दलका नेताहरूसँग समेत समितिले सोधपुछ गरेको छ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार लगायतसँग समितिले सोधपुछ गरिसकेको छ।

    समितिका सदस्यहरूका अनुसार सोधपुछको कार्य अन्तिम चरणमा पुगेको छ। सोधपुछ सकाएर प्रतिवेदन लेख्ने समितिको तयारी छ।

    राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीक लागि राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि २ वर्षसम्म संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति नपाउने गरी ऐन बनाउने सहमति जुटाएको छ। यसअनुसारको भाषासहित संघीय निजामती सेवा विधेयक पारित गरेको छ। तर, कुलिङ अफ पिरियड लागू नहुन सक्ने वा निष्कृय हुने भाषासमेत विधेयकको प्रतिवेदनमा परेको भनेर छानबिन गर्न संसदीय विशेष समिति बनेको हो।

    नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा गठित सात सदस्यीय विशेष संसदीय समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १ः१ जना सदस्य छन्।

    २३ असार २०८२ मा गठित समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन्।