सरकारले गुठी विधेयक ल्याउदैँ - Chaitanya News
  • 2026-05-07
  • 03:16:22
  • बुधबार,बैशाख २३, २०८३
  • सरकारले गुठी विधेयक ल्याउदैँ

    सरकारले गुठी विधेयक ल्याउदैँ

    काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको बताएकी छन्।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको आज मन्त्रालयमा भएको एक कार्यक्रममा विमोचन गर्दै मन्त्री श्रेष्ठले भूमि तथा सहकारीसम्बन्धी छरिएर रहेका र पुराना कानुनहरुलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकूल बनाउने काम मन्त्रालयले सुरु गरिरहेको बताइन्।

    नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्यकेन्द्रित सहकारी विकास गरेर जाने र समस्याग्रस्त सहकारीहरुको उचित व्यवस्थापन गरी आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताइन्।

    मन्त्री श्रेष्ठले सहकारीहरु आफ्नो उदेश्य, मर्म र भावनाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै यसअनुरुप चलेको थुप्रै सहकारीहरुले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको पनि बताइन्।

    सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै उनले त्यसतर्फ सहकारीहरु लाग्नुपर्नेमा जोड दिइन्।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारीसम्बन्धी ऐन र कानुनहरु पुराना भएकाले यसलाई समयानुकूल बनाउन आवश्यक रहेको औँल्याए।