काठमाडौँ– नेपाली काँग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अघी सारेको छ।
आज (मंगलबार) राष्ट्रियसभामा पार्टीको तर्फबाट बोल्दै सांसद नारायणदत्त भट्टले यस्तो प्रस्ताव राखेका हुन् ।
‘कुलिङ पिरियड हुनैपर्छ’, उनले भने,‘२ को ठाउँमा ४ बनाउनुपर्छ।’ प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि राजीनामा दिएको वा अवकाश भएको २ वर्षसम्म संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति नपाउने प्रावधान छ।
तर, यो प्रावधान निष्क्रिय पार्ने भाषा समेत विधेयकको प्रतिवेदनमा परेको भनेर प्रश्न उठेपछि प्रतिनिधिसभामा संसदीय विशेष छानबिन समिति नै बनेको छ। राष्ट्रिय सभामा भने विधेयक अगाडि बढेको छ।
राष्ट्रिय सभामा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर संशोधन प्रस्ताव राखेका छन्। कुलिङ पिरियड नै नराख्ने प्रस्तावको विरोध गर्दै काँग्रेस सांसद भट्टले बरु कुलिङ पिरियडको अवधि २ वर्ष नभएर ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका हुन्।
कुलिङ पिरियड नै नराख्ने प्रस्ताव गर्नेहरूप्रति उनको प्रश्नसहितको चेतावनी छ, ‘कुलिङ अफ पिरियडमा संशोधन हालेका सबैमान्यज्यूहरुको संशोधन अगाडि बढेन भनेर आज जसरी जनचासोको विषय बनेर बसेको छ। यो गम्भीर विषय हुनेछ। यसमा जुन मान्छेले दायाँ बायाँ गर्न खोज्छ ख्याल गरे हुन्छ २०८४ धेरै टाढा छैन।
जे जस्तो संशोधन परेता पनि राष्ट्रिय सभाले विवेकसम्मत निर्णय लिने उनको विश्वास छ। ‘यो राष्ट्रियसभाले कुलिङ अफ पिरियडको विषय मात्रै होइन। सबै आउने विधेयकहरूमा ध्यानपूर्वक राष्ट्र, राष्ट्रियता र देश जनताको हितमा काम गर्छ’, सांसद भट्टको प्रतिबद्धता छ।