सङ्घीय निजामती विधेयक विधायन व्यवस्थापन समितिमा पठाइने - Chaitanya News
  • 2026-06-08
  • 03:30:58
  • आइतबार,जेठ २४, २०८३
  • सङ्घीय निजामती विधेयक विधायन व्यवस्थापन समितिमा पठाइने

    सङ्घीय निजामती विधेयक विधायन व्यवस्थापन समितिमा पठाइने

    काठमाडौँ– ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने भएको छ।

    विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीपछि पेचिलो बनेको विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव मंगलबारको राष्ट्रियसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्तुत गर्दैछिन्। बैठक आज (मंगलबार)को सवा एक बजे बोलाइएको छ।

    प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको विधेयकमा ‘कुलिङ अफ पिरियड’बारे गडबडी भएको पाइएपछि संसदीय विशेष छानबिन समिति गठन भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षे कुलिङ पिरियड राख्ने सहमति बनेको थियो। तर, त्यो सहमतिको बुँदालाई काट्ने गरी अर्को उपदफा राखियो। त्यो उपदफा प्रतिनिधिसभाले पनि पारित गरेपछि विवाद भइरहेको छ।

    यो विषय राष्ट्रियसभाबाट सच्याउने दलहरूबिच सहमति छ। तर, एमालेका सांसदहरूले कुलिङ पिरियड नै हटाउनुपर्ने प्रस्ताव राष्ट्रियसभामा दर्ता गराएका छन्।