पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीले दिए चेतावनी - Chaitanya News
  • 2026-05-10
  • 15:26:39
  • आइतबार,बैशाख २७, २०८३
  • पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीले दिए चेतावनी

    पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीले दिए चेतावनी

    काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव दिएका छन्।

    पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उनको प्रवक्ता नबन्न सुझाएका हुन्।

    अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिँडेका नेताहरूप्रति रोषसमेत प्रकट गरे। उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिँडेको भन्दै आपत्ति जनाएका हुन्।

    जता जाँदा पनि पछ्याउन पर्ने ? चुनाव हारेकाहरूले पछ्याएर हिँड्ने ?,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसरी हुँदैन।’

    उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गरे। तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले बैठकमा सुनाए।

    ‘विद्याजीलाई बालुवाटार नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो च्यासलमा भेटियो,’ अध्यक्ष ओलीले भने, ‘पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईँहरूले ठूलो बनाउनुभएको छ।’

    उनले विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न पनि सुझाव दिएका छन्। ‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्‍यो त्यो,’ अध्यक्ष ओलीले भने, ‘उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन।’

    उनले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने पनि बताएका छन्। पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला बेहोरेको बताए।