काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले कार्यालय पुगेकी छन् । उनि करिब १० वर्षपछि पहिलो पटक एमाले कार्यालय पुगेकी हुन् ।
राष्ट्रपति बनेपछि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएकी भण्डारी आज दिउँसो एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी हुन्। भण्डारीलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयमा सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए।
भण्डारी च्यासल पुगेको आधा घण्टापछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि च्यासल पुगेका छन्। ओली च्यासल पुगेसँगै दुई नेताबिच छलफल सुरु भएको छ।
२०७२ साल कार्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन भने दोस्रो कार्यकाल समेत गरेर उनी २०७९ फागुन अन्तिमसम्म शीतलनिवासमा बसेकी थिइन्। केही समय अगाडि एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीका बारेमा एमाले बैठकमा पक्ष विपक्षमा बहस भएको थियो।
त्यस क्रममा उनको सदस्यता नवीकरण सक्रियताबारे नेताहरूबिच विवाद भएपछि छिनोफानो गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएको थियो। बैठकले भण्डारीसँग संवाद गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएपछि भण्डारी अध्यक्ष ओलीसँग छलफल गर्न च्यासल पुगेकी हुन्। एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाएर भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने प्रयत्न भएको भन्दै भण्डारी पक्षले असन्तुष्टि जनाउँदै आएका छन्।