राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै - Chaitanya News
  • 2026-05-10
  • 15:33:07
  • आइतबार,बैशाख २७, २०८३
  • राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

    राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

    काठमाडौँ– नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग एकता गर्ने निर्णय गरेको छ।

    अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज एकीकरण गर्ने निर्णय गरेको हो। एकताका लागि दुवै पार्टीका शीर्ष नेताले समझदारी गरिसकेकाले बैठकले त्यसलाई अनुमोदन गरेको हो।

    राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो।

    नेकपा (एकीकृत समाजवादी)ले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ।

    नेकपा (एकीकृत समाजवादी)र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकीकरणको तयारी पूरा भएको छ। एकतासभाको कार्यसूची तथा नेताहरूको वरियताक्रम व्यवस्थापन कार्यसम्पन्न भएको हो।

    उक्त सभाबाट एकीकरणको सन्देश प्रवाह गरिने कार्यक्रममा नेकपा ०एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।