काठमाडौँ– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको बताएका छन् ।
एक अन्तर्वार्तामा ओलीले विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने बताएका छन्। यस्तै भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताए।
आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा फर्किनेबारे कुनै सल्लाह नगरेको दाबी गरे ।
उनले भने, ‘उहाँले अरूसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन। पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन।
ओलीले पार्टीको बैठक बसेर भण्डारीको विषयमा निर्णय लिइने बताए।
उनी थप्छन्, ‘उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन। हामीले पठाएको हो। उहाँ हाम्रो क्यान्डिडेट हो। राष्ट्रपति हुने भएपछि पार्टी छोड्नुभयो । पार्टी छोडेर जानुपर्छ। छोड्नुभन्दा अगाडि त उपाध्यक्ष नै हो।
भण्डारीको विषयमा एमालेले औपचारिक निर्णय गर्छ भन्ने प्रश्नमा ओली भन्छन्, ‘निर्णय त गर्नैपर्छ। उहाँले प्रश्न उठाएपछि र म आउँछु भनेपछि उहाँले आउनु हुन्छ कि हुँदैन, नैतिक रूपमा हुन्छ कि हुँदैन, गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा र स्वयं उहाँको जीवनमा यसले के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्छ नै।’
कहिलेसम्ममा निर्णय गर्छ भन्ने प्रश्नमा ओलीले ओलीले भने, ‘त्यो हेर्नुपर्छ। सल्लाह गर्नुपर्छ। उहाँले आफैँले विचार गर्नुपर्छ। खोइ के बोलिराख्नुभएको छ। मैले त‘ हामीले पनि जानकारी प्राप्त गरेका छौँ। सार्वजनिक रूपमा बोलेका कुराहरूमा हामीले उहाँसँग सोध्नुपर्छ। धेरै ढिला गर्दैनौँ।’