कप्तान सावित्रा भण्डारीले वेलिङटन फोनिक्सबाट अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने - Chaitanya News
  • 2026-07-25
  • 04:57:51
  • शुक्रबार,साउन ०८, २०८३
  • कप्तान सावित्रा भण्डारीले वेलिङटन फोनिक्सबाट अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने

    कप्तान सावित्रा भण्डारीले वेलिङटन फोनिक्सबाट अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने

    काठमाडौं– नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भएकी छन्। उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन्।

    वेलिङटन न्युजिल्याण्डको क्लब भएपनि अस्ट्रेलियाको निन्जा ए लिग खेल्दै आएको छ। क्लबले सावित्रा क्लब र देश दुवैका लागि उत्कृष्ट गोलकर्ता भएको र उनलाई अनुबन्ध गर्न पाउनु टोलीका लागि महत्वपूर्ण कदम भएको बताएको छ।

    उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन्।

    भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि सावित्राले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन्।

    फोनिक्सका कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्डले सावित्राको आगमनलाई महत्त्वपूर्ण कदम बताउँदै भनिन्, ‘हामी सावित्रालाई स्वागत गर्न पाउँदा गर्वित छौं। उनले फ्रान्समा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन्। उनको अनुभव, नेतृत्व र आक्रमण क्षमताले हाम्रो टोलीलाई बलियो बनाउनेछ।’

    साम्बाले पनि क्लबमा आबद्ध हुन पाउँदा उत्साहित रहेको बताइन्। ‘म वेलिङटन फोनिक्समा आउन पाउँदा निकै उत्साहित छु। धेरै गोल गर्दै समर्थकलाई खुशी बनाउन चाहन्छु’ सावित्राले भनिन्, ‘जब मैले फोनिक्सको आगामी सिजनका लक्ष्यबारे सुनें, टोलीमा सामेल हुने निर्णय गर्न मेरो लागि सजिलो भयो।’

    उनले आजै गुइनगाम्पसँग अलग भएको घोषणा गर्दै क्लबलाई २ वर्षको सहयात्राका लागि धन्यवाद पनि दिएकी छन्।

    सावित्रा २०२५र२६ को ए–लिगका लागि वेलिङटन फोनिक्स महिला टोलीमा आबद्ध भएकी १७औं खेलाडी हुन्।