धरहरा आजदेखि सार्वजनिक बिदामा पनि सञ्चालन हुने - Chaitanya News
  • 2026-07-16
  • 10:23:53
  • बिहिबार,आषाढ ३२, २०८३
  • धरहरा आजदेखि सार्वजनिक बिदामा पनि सञ्चालन हुने

    धरहरा आजदेखि सार्वजनिक बिदामा पनि सञ्चालन हुने

    काठमाडौँ– आज (बिहीबार) साउन १ गतेदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने भएको छ। बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दैनिक (१२ घण्टा) धरहरा खुल्ने भएको हो।

    यसअघि दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको थियो।

    शहरी विकास मन्त्रालयकाका अनुसार अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने भएको छ। शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने बताइएको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो। गएको मङ्सिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो।

    धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

    त्यस्तै अहिले स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ।