काठमाडौँ– प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुने भएको छ। विधेयक राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्ने भएका छन् ।
आज (मंगलवार) राष्ट्रिय सभाको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव रहेको छ।
प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। तर, घुस लेनदेनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री गुप्ताले मंगलवार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिइसकेका छन्।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद आनन्दप्रसाद ढुंगाना, जगप्रसाद शर्मा, जयन्तीदेवी राई, मोहम्मद खालिद, शेखरकुमार सिंह, दुर्गा गुरुङ, राजेन्द्रलक्ष्मी गैरे, राधेश्याम पाश्वान र सोनाम गेल्जेन शेर्पाले भाग लिने गरी नाम दर्ता गराएका छन्। विधेयकमाथि करिब डेढ घण्टा छलफल हुने कार्यसूची रहेको छ।