आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै,यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-10
  • 16:35:24
  • आइतबार,बैशाख २७, २०८३
  • आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै,यस्ता छन् कार्यसूची

    आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै,यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (मंगलबार) संघीय संसद्को दुवै सदनको बैठक बस्ने तय भएको छ । जसअनुसार, प्रतिनिधि सभाको बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

    यसैगरी, राष्ट्रिय सभाको बैठक १ः१५ मिनेटमा बस्ने तय भएको छ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभाबाट सन्देसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।