प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि पनि गृहमा ७ सहसचिवसहित १८ उपसचिव जगेडामा - Chaitanya News
  • 2026-06-08
  • 07:52:55
  • सोमबार,जेठ २५, २०८३
  • प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि पनि गृहमा ७ सहसचिवसहित १८ उपसचिव जगेडामा

    प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि पनि गृहमा ७ सहसचिवसहित १८ उपसचिव जगेडामा

    काठमाडौँ– प्रधानमन्त्री केपी शार्म ओलीको कार्यालयको निर्देशनपछि पनि गृह मन्त्रालयमा ७ सहसचिव र १८ उपसचिव जगेडाको थैली भरिन लागेको छ।

    अहिले ७ सहसचिव र १८ उपसचिव जगेडामा भएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

    सहसचिवहरू लालबाबु कवारी, वेद प्रसाद खरेल, कल्पना श्रेष्ठ, नर बहादुर थापा, बुद्ध बहादुर गुरुङ, लिला शर्मा र ⁠तीर्थराज भट्टराई जगेडामा रहेको कर्मचारी प्रशासन शाखाको तथ्यांकले देखाएको छ।

    सहसचिव भट्टराई भिजिट भिसामा सेटिङ गरेको आरोप लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृतबाट जेठ ६ गते तानिएका हुन् । कवारीलाई जिल्लावासी भएको र एकपक्षका मात्रै कुरा सुनेको स्थानीयले गृहमन्त्री लेखक र गृहसचिव दुवाडीलाई ‘कम्प्लेन’ गरेपछि वैशाख २१ गते महोत्तरीको प्रमुख जिल्ला अधिकारीबाट तानिएको थियो।

    त्यस्तै १८ उपसचिव पनि गृह मन्त्रालयको जगेडामा छन्। कर्मचारी प्रशासन शाखाका अनुसार उपसचिवहरू खेमराज ओझा, दिनेश प्रसाद थानी, फणीन्द्र दाहाल, जितेन्द्र कुमार यादव, माधवप्रसाद ढुंगाना, सिता परियार, विजया कुमारी प्रसाई, सूर्यप्रसाद उपाध्याय र तारानाथ पनेरु मन्त्रालयको जगेडामा छन्।

    त्यस्तै नवराज जैसी, रमा आचार्य सुवेदी, सत्यराज जोशी, नरेश कुमार यादव, पर्शुराम पोखरेल, शेखर पौडेल, अच्युत श्रेष्ठ, दीर्घराज उपाध्याय र मोहनराज जोशी पनि जगेडामा रहेको शाखाको रेकर्डमा उल्लेख छ।

    जगेडामा रहेकाहरूमध्य जैशी, उपाध्याय र जोशीलाई सहसचिवको दरबन्दीमा उपसचिवले प्रमुख जिल्ला अधिकारी भएर काम गरेपछि चर्को ‘कम्प्लेन’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन अनुसार कर्मचारीहरू खटाउने भन्ने पत्रपछि गृहमन्त्री लेखकले तानेका हुन्। उनीहरूलाई तानेको स्थानमा अहिले भने सहसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।