काठमाडौँ– आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन्। जसअनुसार, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समितिको बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरू र विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यस्तै, साढे ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारबाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।